काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ घर भई हाल कीर्तिपुर नगरपालिका–२ मा बस्दै आएकी ३३ बर्षिया बिनिता नगरकोटी र मोरङ बेलबारी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ राधेराधेमा बस्दै आएकी ३६ बर्षिया बेनु श्रेष्ठ रहेको नेपाल प्रहरी समाचारकक्षले उल्लेख गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले पीडितहरूको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, बिनिता नगरकोटीले एक जना पीडितलाई पोल्याण्ड पठाइदिने आश्वासन दिई १ लाख २० हजार रुपैयाँ ठगी गरेकी थिइन्। त्यस्तै, बेनु श्रेष्ठले अर्का एक पीडितबाट जर्मनी पठाइदिने भन्दै १६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन्। रकम लिएपछि उनीहरूले पीडितलाई सम्पर्कमा नल्याई फरार भएको खुलेको छ।
पीडितहरूको उजुरीपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले बेनु श्रेष्ठलाई सोमबार भक्तपुरको राधेराधेबाट र बिनिता नगरकोटीलाई मंगलबार कीर्तिपुरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।