काठमडौँ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम असुली गरी सम्पर्कविहीन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका–३२ का ४४ वर्षीय केदारबहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमीका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिकाकी ५५ वर्षीया सुनिता खत्री रहेका छन्।
प्रहरीका अनुसार मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख ५० हजार रुपैयाँ, केदारबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ लाख २५ हजार रुपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ लिई पीडितसँग सम्पर्कविहीन भएको आरोप छ। उनीहरूलाई उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले विभिन्न स्थानबाट पक्राउ गरेको हो। हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।