काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट भएका छन् । उनले अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई पुरस्कृत गरेको हो ।
यता पुरस्कृत भएपछि एसपी जिसीले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको र आफू पुरस्कृत हुनुले थप जिम्मेवारीको अनुभूति भएको प्रतिक्रिया दिएका छन्।
उनले आगामी दिनमा पनि आमनागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने, प्रहरी सेवामा नागरिकमैत्री व्यवहारलाई अझ सुदृढ बनाउने तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहने बताएका छन्। प्रहरी सेवामा कार्यक्षेत्रको जिम्मेवारी सफलताका साथ बहन गर्नेमा जिसी कहलिएका अधिकृत मानिन्छन् । २०५४/१२/१६ असईबाट प्रहरी सेवामा प्रवेश गरेका उनी २०६१/२/१५ मा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका हुन् ।