काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा तीन हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ५०१ जना चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा मापसे, रातो बत्ती उल्लङ्घन, तीव्र गति, लेन अनुशासनको उल्लङ्घन, ढोका खुल्लै राखेर सवारी चलाउने, नो हर्न क्षेत्रको उल्लङ्घन लगायतका घटना समेटिएका छन्। यस अवधिमा कारबाहीबाट करिब २५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।