काठमाडौँ । सभापति शेरबहादुर देउवाले आफूहरूको सहमतिविना अनुशासन समिति गठन गर्न खोजेको भन्दै नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेपछि मंगलबार बोलाइएको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
देउवाले भीष्मराज आङदेम्बेको संयोजकत्वमा समिति बनाउन खोजेका थिए । त्यसमा पौडेल र सिटौला पक्षले आपत्ति जनाएका छन्। आङदेम्बेभन्दा सिनियर नेतालाई जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ।
सोमबारको पदाधिकारी बैठकमा देउवाले मंगलबारको केन्द्रीय समिति बैठकबाट आङदेम्बेलाई संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई सदस्य बनाउने भन्दै पौडेल र सिटौला पक्षबाट पनि थप दुई सदस्यको नाम मागेका थिए।
‘विधान पास भएपछि अब पार्टीका सबै गतिविधिलाई अघि बढाउनुपर्नेछ, यसैले अनुशासन समिति गठन गरिहालौँ, निर्वाचन समिति र विधान नियमावलीको मस्यौदा समिति पनि गठन गरौँ भन्ने तयारी थियो,’ सहमहामन्त्री डा। प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘तर, उहाँहरू समितिमा सिनियर नेता हुनुपर्छ र सर्वसम्मत हुनुपर्छ भन्ने अडानमा रहँदा केन्द्रीय समितिको बैठक नै स्थगित गर्नुपर्यो।’
पौडेलले आङदेम्बेको नाममा सहमति हुन नसक्ने बताएपछि ११ बजे सुरु हुनुपर्ने केन्द्रीय समितिको बैठक साँझसम्म पनि बस्न नसकेपछि स्थगित भएको थियो। अनौपचारिक छलफल गरेर अनुशासन समिति गठन गर्ने तयारी भए पनि पौडेल–सिटौला पक्ष बैठक स्थलमै गएनन्।
सभापतिले अनुशासन समिति र निर्वाचन समितिसँगै गठन गरेर जाऊँ भन्ने कुरा राख्नुभयो । यसमा हाम्रो सहमति छ । तर, सबैलाई न्याय दिनुपर्ने समिति सर्वसम्मत रूपमा बनाउनुपर्छ भन्ने हाम्रो माग हो । यो कुरामा सभापति तयार हुनुभएन ।
समयमा निर्णय गर्न पनि नदिने र समयमा गरेनन् पनि भन्नेमा उहाँहरू पौडेल र सिटौला देखिनुभयो । सभापतिले अझै पनि केही दिन छलफल गरेर पुनः केन्द्रीय समितिको बैठक आह्वान गर्ने सोच बनाउनुभएको छ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको ।