कैलाली । कैलाली र कञ्चनपुरमा अनलाइनमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ। अनलाइन गेमको नाममा चिठ्ठा परेको भन्दै प्रलोभनमा पारी ठगी गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको छ। उक्त घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् भने थप एक जना फरार छन्।
कञ्चनपुरको बेदकोट नगरपालिकाकी एक महिलाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले यस गिरोहको रहस्य पत्ता लगाएको हो। पीडित महिलालाई फेसबुकमार्फत अनलाइन गेम खेलाएर लाखौँको चिठ्ठा परेको भन्दै प्रलोभनमा पारिएको थियो। जितेको रकम हात पार्न सुरुमा ’कर’ तिर्नुपर्ने भन्दै ठगहरूले उनलाई साढे दुई लाख रुपैयाँ मोबाइल बैंकिङमार्फत आफ्नो खातामा हाल्न लगाएका थिए। रकम पठाएपछि मात्र आफू ठगिएको थाहा पाएपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेकी थिइन्।
सोही उजुरीका आधारमा प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुवास भाटलाई पक्राउ गरेको छ। घोडाघोडीस्थित एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा कार्यरत भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए। प्रहरीले उनीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।
प्रहरी स्रोतका अनुसार यो घटना सामान्य ठगी मात्र नभई कैलालीदेखि काठमाडौँसम्म फैलिएको एउटा ठूलो गिरोहको हिस्सा हो। यस गिरोहमा अत्तरिया क्षेत्रका व्यापारीदेखि राजनीतिक पहुँच भएका व्यक्तिहरूसमेत संलग्न रहेको आशंका गरिएको छ। भाटमाथिको अनुसन्धानबाट यो ठूलो गिरोहलाई नै कानुनी दायरामा ल्याउन सकिने प्रहरीको विश्वास छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खडकबहादुर खत्रीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र संलग्न सबैलाई कानुनको कठघरामा उभ्याइने प्रतिबद्धता जनाएका छन्।