पोखरा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार विशेष सूचनाको आधारमा खटिएको टोलीमार्फत उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका–१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका–८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।
प्रहरीका अनुसार, पोखरा महानगरपालिका–८ स्थित जाल्पारोड क्षेत्रमा रहेका विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूले पीडितहरूलाई “खानबस्न सुविधासहित राम्रो तलबमा होटलमा काम लगाइदिन्छु“ भनी विभिन्न प्रलोभन देखाएर फसाउने र उनीहरूलाई अनैतिक कार्यमा संलग्न गराउने गरेको खुल्न आएको छ ।
हाल पक्राउ परेका चारै जना विरुद्ध जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।