काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले घरधनीहरूलाई आफ्नो घरमा भाडामा बस्ने व्यक्तिहरूको विवरण अनिवार्य रूपमा राख्न अनुरोध गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अपराध न्यूनीकरण र कुनै अप्रिय घटना घटेको खण्डमा व्यक्ति पहिचानमा सहजताका लागि प्रहरीले यस्तो कदम चालेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार लामो समयसम्म एउटै घरमा भाडामा बस्ने व्यक्तिहरूको बारेमा घरधनी अनभिज्ञ हुँदा अनुसन्धानमा कठिनाइ हुने गरेको छ।
एसपी भट्टराईले भने, “एउटै घरमा चार–पाँच वर्षदेखि डेरामा बसेका व्यक्तिले कुनै अपराध गरेमा सोधपुछका क्रममा घरधनीले केही पनि जानकारी दिन नसक्ने अवस्था छ। कम्तीमा पनि यस्ता घटना नदोहोरिउन् र सुरक्षा व्यवस्था मजबुत बनाउन सकियोस् भन्ने उद्देश्यले भाडामा बस्नेहरूको विवरण राख्न अनुरोध गरेका हौं।“
प्रहरीले यो व्यवस्था तत्कालका लागि ’बाध्यकारी’ नभएको स्पष्ट पारेको छ। तर, सुरक्षाको दृष्टिकोणले यो अभ्यास अत्यन्तै आवश्यक रहेको प्रहरीको जोड छ।
प्रहरीले घरधनीहरूलाई भाडामा बस्न आउने व्यक्तिहरूको पृष्ठभूमिबारे जानकारी लिन थप सहज हुने उपाय पनि सुझाएको छ। यदि घरधनीले भाडामा बस्नेहरूसँग ’पुलिस क्लियरेन्स रिपोर्ट’ (प्रहरी चारित्रिक प्रमाणपत्र) माग गरेको खण्डमा सम्बन्धित व्यक्तिको विगतको पृष्ठभूमि सजिलै खुल्ने र यसले घरधनीलाई सुरक्षित रहन मद्दत गर्ने प्रहरीको भनाइ छ।
यस्तो अभ्यासले भविष्यमा कुनै घटना घटेको खण्डमा निर्दोष घरधनी अनावश्यक रूपमा प्रहरीको सोधपुछ वा हैरानीमा पर्ने सम्भावना पनि कम हुने प्रहरीले जनाएको छ।