काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित विष्णुमति खोला किनारमा बेवारिसे अवस्थामा ठूलो परिमाणमा हतियार फेला परेको छ। महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले खोला किनार सफा गर्ने क्रममा आइतबार बिहान उक्त हतियारहरू फेला परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, घटनास्थलबाट ४ थान ’टाइप–५४’ पेस्तोल, सोही हतियारका ७ थान म्यागजिन र ९ एमएम बेरेटा पेस्तोलमा प्रयोग हुने ५८ राउण्ड गोली फेला परेको हो ।
प्रहरीले परेका यी हतियारहरू हालैको ‘जेनजी आन्दोलन’ को समयमा प्रहरीबाटै लुटिएको हुनसक्ने बलियो आशंका गरेको छ। खोला किनारको झाडीमा फेला परेका ती हतियारहरू त्यहाँ कसरी आइपुगे र यसमा कसको संलग्नता छ भन्ने विषयमा प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ।
हाल घटनास्थललाई सुरक्षित राखेर प्रहरीले हतियारहरूको प्राविधिक परीक्षण र अन्य कानुनी प्रक्रिया सुरु गरेको छ। घटनाका सम्बन्धमा विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।