काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानमा लागूऔषधको अवैध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार र शनिबार देशभर चलाएको विशेष अपरेसनका क्रममा ब्राउनसुगर, गाँजा तथा नियन्त्रित औषधिहरू बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बाँकेको नेपालगंज उपमहानगरपालिका–११ कहारन टोलबाट ३० वर्षीया रोशनी राई ७ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेकी छिन्। उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।
यसैगरी, ललितपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा कारबाही गरेको छ। ललितपुर महानगरपालिका–९ चामुन्डाबाट २४ वर्षीय चेत बहादुर विकलाई ८० ग्राम पोलेनसहित पक्राउ गरिएको छ। सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले मकवानपुरका ३० वर्षीय सुरेन्द्र गोलेलाई ५ सय १८ ग्राम पोलेन र १३ हजार १ सय ३० रूपैयाँ नगदसहित पक्राउ गरेको छ। त्यस्तै, ललितपुरकै वडा नं १० गुर्सिङ्गलबाट ७० ट्याब्लेट ट्रामाडोल र ५ ट्याब्लेट स्पास्मोसहित रमेश चालिसे र योगेश लामा पक्राउ परेका छन्।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्पबाट १९ वर्षीय बासुदेब महरा ९ ग्राम ८ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले शुक्रबार बेलुकी पक्राउ गरेको हो।
झापामा पनि प्रहरीले दुईजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट ३२ वर्षीय स्याङ आङदेम्बेलाई २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। यसैगरी, शिवसताक्षी नगरपालिका–७ का ३२ वर्षीय गंगा बहादुर मगरलाई १३ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले शनिबार घरैबाट पक्राउ गरेको छ।
चितवनको रत्ननगर नगरपालिका–१३ पञ्चरत्न टोलबाट २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत लामिछाने मगर १ सय ४ ट्याब्लेट ट्रामाडोलसहित शनिबार बिहान पक्राउ परेका छन्। प्रहरी चौकी पञ्चकन्याको टोलीले घर तलासी गर्दा उक्त औषधि बरामद भएको हो।
यता सुनसरीको धरान उपमहानगरपालिका–१३ मा भने प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियो गाडीमा सवार भारत बिहारका सुबोध कुमार, रोहित कुमार र मोहमद जमशेरलाई ५९ किलोग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि अहिले सम्बन्धित प्रहरी कार्यालयहरूबाट आवश्यक अनुसन्धान भइरहेको छ।