काठमाडौँ। देशभरका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि विभिन्न जिल्लामा निर्माण गरिएका होल्डिङ सेन्टर अहिलेसम्म प्रयोगविहीन छन् । करोडौँ रुपियाँ लगानीमा निर्माण गरिएका यी संरचना सञ्चालन र व्यवस्थापनको स्पष्ट योजना नहुँदा अलपत्र बनेका हुन् ।
कपिलवस्तुको कृष्णनगर क्षेत्रमा निर्माण गरिएको एक हजार क्षमताको होल्डिङ सेन्टर हालसम्म प्रयोगमा आउन सकेको छैन । करिब २७ करोड ८७ लाख रुपियाँ लागतमा निर्माण गरिएको उक्त संरचना चार बिघा बढी क्षेत्रफलमा फैलिएको छ ।
यस्तै पाल्पा जिल्लालगायतका पहाडी जिल्लामा पनि महामारीका बेला निर्माण गरिएका क्वारेन्टाइन तथा होल्डिङ संरचना अहिले अलपत्र छन् । तानसेनको धोबीधारामा बनाइएको कोभिड ल्याबदेखि पालिकास्तरमा बनेका होल्डिङ क्वारेन्टाइनसम्म प्रयोगमा नआएको अवस्था छ । स्वास्थ्यकर्मीका अनुसार महामारी जस्ता अस्थायी सङ्कटका लागि स्थायी संरचना निर्माण गर्दा दीर्घकालीन उपयोगको योजना नबनाइँदा यस्तो समस्या देखिएको हो ।
यसै गरी विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्न थालेको छ । विराटनगर–१६, रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर बनाइएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण बनेको हो । नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न भएको यस सेन्टरमा २२ वटा ठुला आवास हलसहित ५९ वटा भवन संरचना छन् । दोलखाको भीमेश्वर नगरपालिका–६, सिमपानी सभाहलमा बनाइएको एक मात्र भिआइपी होल्डिङ सेन्टरका सामान पशुपति चौलागाईं स्मृति अस्पतालमा सारिएको छ । सुदूरपश्चिम प्रदेशमा बनाइएको होल्डिङ सेन्टर पनि प्रयोगमा नआउँदा जीर्ण बन्न थालेका छन् ।
दुई प्रमुख नाकालाई लक्षित गरी कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सालघारी क्षेत्रमा निर्माण गरिएका होल्डिङ सेन्टर जीर्ण बन्न थालेका हुन् । सङ्घीय सरकारको कुल ५८ करोड छ लाख रुपियाँ खर्चेर बनाइएको दुवै होल्डिङ सेन्टर प्रयोगमा छैनन् ।होल्डिङ सेन्टरको सुरक्षाका लागि अहिले नेपाली सेनाको टोली खटिएको छ तर मानवीय गतिविधि नहुँदा र उपयोगविहीन बन्दा धाराका टुटीदेखि पानीका ट्याङ्कीसम्म बिग्रिएका छन् ।