काठमाडौं । ठमेल क्षेत्रबाट अनैतिक क्रियाकलाप र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका २० जना युगाण्डाका महिलालाई सरकारले डिपोर्ट (देश निकाला) गरेको छ। उनीहरूलाई आगामी एक वर्षसम्म नेपाल आउन नपाउने गरी प्रतिबन्ध समेत लगाइएको छ।
गत ११ चैतमा काठमाडौं महानगरपालिका–२६ स्थित फायरचोक क्षेत्रबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। सडकखण्डमा आवतजावत गर्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने र दुःख दिने गरेको सूचनाका आधारमा प्रहरी वृत्त सोह्रखुट्टेले उनीहरूलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार, पक्राउ परेका महिलाहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। प्रशासनको आदेशपछि रिहा भएका उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग बुझाइएको थियो।
अध्यागमन विभागले नेपालको कानुन र आचरण विपरीतका गतिविधिमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई एक वर्ष नेपाल फर्कन नपाउने गरी आफ्नै देश फिर्ता पठाएको हो। यसअघि पनि ठमेल क्षेत्रमा यौनधन्दा र पर्यटकीय क्षेत्रको मर्यादा विपरीतका काममा संलग्न युगाण्डाका महिलाहरू पक्राउ परी डिपोर्ट भएका थिए। प्रहरीले पर्यटकीय क्षेत्रमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाएको जनाएको छ।