काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकामा गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न आक्रामक रणनीति अख्तियार गरेको छ। प्रहरीले पछिल्लो समय ‘सेफ्टी काठमाडौं’ अभियानअन्तर्गत १ हजार ९७ जना गुण्डागर्दी र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विस्तृत प्रोफाइल तयार पारेको हो।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार यो प्रोफाइलमा विगतमा गुण्डागर्दीमा संलग्न, पटक–पटक पक्राउ परेका र सामाजिक सञ्जालमार्फत आफ्नो समूह विस्तार गर्ने व्यक्तिहरूलाई समेटिएको छ। प्रहरीले उनीहरूको फोटो, ठेगाना, पेसा, क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस), समूहको कनेक्सन, पारिवारिक पृष्ठभूमि र ट्राभल हिस्ट्रीसहितको पूर्ण विवरण संकलन गरेको हो। यसले गर्दा कुनै पनि घटना हुनासाथ दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन र उनीहरूको दैनिक गतिविधि निगरानी गर्न सहज हुने प्रहरीको विश्वास छ।
प्रहरीको यो अभियान गुण्डागर्दीमा मात्र सीमित नभई लागुऔषध र चोरीका घटनामा संलग्न पुराना अपराधीहरूमाथि पनि केन्द्रित छ। हालै मात्र प्रहरीले १९५ जनालाई नियन्त्रणमा लिएको थियो, जसमध्ये २४ जना विशुद्ध गुण्डागर्दी पृष्ठभूमिका थिए। पक्राउ परेका मध्ये केहीमाथि मुद्दा चलाइएको छ भने केही अझै प्रहरी हिरासतमा छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय र परिसरको संयुक्त प्रयासले उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।