कास्की । पोखरा महानगरपालिका–२७ तालचोक हिमाली टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। स्थानीय ५६ वर्षीय खडिन्द्र पंगेनीको डेरा कोठामा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कोठा धनी पंगेनीसहित ९ जना रहेका छन्। प्रहरीले जुवाको खालबाट नगद १ लाख ९ हजार ९ सय ५८ रुपैयाँ र ४ बुक ताससमेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।