काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एक महिलामाथि कुटपिट गरी चोरी गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्ष ३४ का शंकर बहादुर तामाङ, बर्ष ५० का राजु तामाङ, बर्ष ३३ का गुणराज खनाल र बर्ष ४३ प्रेम तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले पीडित महिलालाई शारीरिक रूपमा आक्रमण गरी कानमा लगाएको सुनको रिङ जबरजस्ती तानेर फरार भएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ। पछिल्लो समय उपत्यकामा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।