काठमाडौँ । चेक अनादर (बैंकिङ कसुर) मुद्दामा अदालतबाट दोषी ठहर भई विगत ११ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ कलधारा बस्ने ६४ वर्षीय अमर केशर सिंह रहेका छन्।
जिल्ला अदालत काठमाडौँको २०७१ वैशाख ९ गतेको फैसलाले सिंहलाई चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय सुनाएको थियो। सजाय ठहर भएदेखि नै फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले शनिबार चन्द्रागिरी नगरपालिका–८ मातातिर्थबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सिंहलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ। अदालतको फैसला कार्यान्वयन गर्ने र फरार रहेका अपराधीहरूलाई कानुनी कठघरामा ल्याउने अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।