काठमाडौँ । अमेरिकन डलर सस्तो दरमा सट्टा गरिदिने प्रलोभन देखाएर ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई काठमाडौँको जडीबुटी बस्ने ६० वर्षीय पालसङ तामाङ र मुलपानी बस्ने ४७ वर्षीय पदम लाल श्रेष्ठ रहेका छन्।
उनीहरूले पीडितलाई सस्तो दरमा डलर दिने विश्वास दिलाएर १० लाख रुपैयाँ नगद लिएर भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण मन्दिर नजिकैको जङ्गलमा बोलाएका थिए। सोही सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई रकमसहित घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय डलर देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेकाले अपरिचित व्यक्तिहरूसँग यस्तो कारोबार नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।