कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । उपाध्यक्ष नाथलाई ज्यानसम्बन्धी कसुरमा महेन्द्रनगरबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको जानकारी दिए ।
गत ९ वैशाखमा बेलडाँडी गाउँपालिका– ३ कमरीका भैँसीपालक किसान हरकिशन राना बेलौरी नगरपालिका– १०, शिवनगरस्थित निर्मल आर्यघाटनजिकै मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । रानाकी श्रीमतीले उपाध्यक्ष नाथविरुद्ध किटानी दिएकी थिइन् ।
स्थानीयका अनुसार भैँसीपालक किसान समूहका लागि प्रदेश सरकारले पठाएको अनुदानमा मृतक राना र उपाध्यक्ष नाथबीच विवाद थियो । उक्त घटनाका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दीपक बोहराले आवाज उठाएका थिए ।