काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ करोड ५० लाख रुपैयाँ ठगी गरी फरार रहेका दुई जनालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा ६२ वर्षीय शान्तिरमण पंगेनी र ५८ वर्षीया टिका पंगेनी रहेका छन्।
कमल प्रसाद ज्ञवालीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी शान्तिरमण पंगेनी समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा उनीहरू लामो समयदेखि फरार रहेका थिए। कास्की जिल्ला अदालतले २०८२ साल पुस ५ गते नै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भए पनि फरार रहँदै आएका उनीहरूलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार (वैशाख २ गते) दिउँसो १ः०० बजेको समयमा टोखा नगरपालिका वडा नं. ०७ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पंगेनी दम्पतीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पोखरा, कास्कीमा उपस्थित गराइएको छ। उनीहरूमाथि ४ करोड ५० लाख रुपैयाँ बराबरको ठगी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक एवं सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ।