काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन्। महोत्तरीको बर्दिवासस्थित मध्य पृतना हेडक्वार्टरमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले सेनाको संस्थागत हित र राष्ट्रको सार्वभौमिकता रक्षाका लागि अवकाश प्राप्त सैनिकहरूले पुर्याएको योगदान अविष्मरणीय रहेको उल्लेख गरेका हुन् ।
नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जालाई समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकका रूपमा प्रस्तुत हुँदै स्थानीय स्तरमा उत्पादनशील र उद्यमी बन्न उनले आग्रह गरे। नेपाली सेनाको कल्याणकारी कोषका सुविधाहरूलाई विकेन्द्रिकृत, पारदर्शी र परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, स्वरोजगार र सीप विकासका क्षेत्रमा हिताधिकारीहरूको पहुँच विस्तार भइरहेको जानकारी दिए।
प्रधानसेनापति सिग्देलले देशको आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले खेलेको भूमिकाले संस्थालाई विश्वमै विश्वसनीय र सम्मानित बनाएको दाबी गरे। हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सेनाले देखाएको कार्यकुशलताको प्रशंसा गर्दै उनले स्थानीय स्तरमै सृजनशील बन्न अवकाश प्राप्त सैनिकहरूलाई उत्प्रेरित गरे।
कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न अवकाश प्राप्त सैनिकहरूको सुझाव र सहकार्य अपरिहार्य रहेको उनको ठहर छ। सम्मेलनमा सहभागीहरूले प्रदर्शन गरेको उत्साहपूर्ण मार्च पासले उनीहरूमा अझै पनि सैनिक जोश र राष्ट्रप्रतिको प्रतिबद्धता जीवितै रहेको झल्काएको भन्दै उनले सेवारत सैनिकहरू यसबाट थप उर्जावान भएको बताए।