कञ्चनपुर । जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२ अमरैया बस्ने ५४ वर्षीय बुरु भनिने बिरा राना रहेका छन्। जिल्ला अदालत कञ्चनपुरको विसं २०६४ जेठ २० गतेको फैसलाले रानालाई जबर्जस्ती करणीको कसुरमा ३ वर्ष कैद सजाय सुनाएको थियो। फैसला लगत्तै फरार भएका उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले रानालाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको र कैद भुक्तानका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।