काठमाडौं । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी लोब्साङ बोम्जनलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्क घर भएका ३१ वर्षीय बोम्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शुक्रबार उनकै गृहजिल्लाबाट नियन्त्रणमा लिएको हो।
बोम्जनले २०८२ साउन १२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। सोही घटनामा पक्राउ परी प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनी २०८२ भदौ २४ गतेको आन्दोलनको फाइदा उठाउँदै हिरासतबाटै फरार भएका थिए।
लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई सिन्धुपाल्चोकको बाँसखर्कमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका बोम्जनलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः प्रहरी वृत्त बौद्ध पठाइएको छ।