नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर २२ वर्षीया सिर्जना बुढामगरको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार भारतीय प्रहरीको समन्वय र सहयोगमा ५० वर्षीय रहमद ढपाली र उनका २१ वर्षीय छोरा मोहम्मद आदिल ढपालीलाई पक्राउ गरिएको हो। पक्राउ परेका रहमद यसअघि नै नियन्त्रणमा लिइएका मुख्य आरोपित मोहम्मद आरिफ ढपालीका बुबा हुन्।
यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले यसअघि नै मोहम्मद आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको थियो। पछिल्लो पटक बाबु–छोरा पक्राउ परेसँगै यस प्रकरणमा कानुनी दायरामा आउनेको सङ्ख्या पाँच पुगेको छ।
गत चैत २३ गते भएको यो गम्भीर घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय विशेष अनुसन्धान टोली समेत परिचालन गरिएको छ। फरार अभियुक्तहरू सीमा पारि लुकिछिपी बसेको अवस्थामा पक्राउ परेकाले घटनाको थप रहस्य खुल्ने अपेक्षा गरिएको छ।