वीरगञ्ज । पर्साको वीरगञ्जमा एक युवकको फलामको छड र गल प्रहार गरी हत्या गरिएको छ। कालिकामाई गाउँपालिका वडा नं. १ मुडली निवासी २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्या भएको हो। उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ११ रानीघाटस्थित एक घरमा चौरसियामाथि आक्रमण भएको थियो। उनलाई फलामको छड र धारिलो ’गल’ प्रहार गरी गम्भीर घाइते बनाइएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
गम्भीर अवस्थामा उद्धार गरिएका चौरसियाको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार निम्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । पर्नेमा माधवनारायण नगरपालिका–१, रौतहट (हाल वीरगञ्ज–११ मा डेरा गरी बस्ने) २६ वर्षका सन्तोष साह, २४ वर्षका सोनी कुमारी, १९ वर्षका बिशाल साहलाई प्रहरीले पक्राउ गरेको हो, अर्का एक भारत थाना अउत्तर प्रदेश २१ वर्षका ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। हत्याको कारण आपसी विवाद वा पुरानो रिसिइबी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ, यद्यपि यसबारे विस्तृत विवरण खुल्न बाँकी छ।
प्रहरीले घटनास्थलबाट प्रयोग भएका उपकरणहरू बरामद गर्नुका साथै घटनाको थप सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएको छ।