कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष टोलीले आइतबार दिउँसो उनीहरूलाई नगद र ताससहित पक्राउ गरेको हो ।
भीमदत्त नगरपालिका–१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिकै रहेको एक रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द लगायत रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास बरामद गरिएको छ ।
त्यसैगरी, सोही वडामा पर्ने महाकाली प्रादेशिक अस्पताल नजिकै सञ्चालित एक चिया पसलबाट ७ जना जुवाडे पक्राउ परेका छन् । ४० वर्षीय पदम राज पन्तले सञ्चालन गरेको उक्त चिया पसलमा जुवा खेलिरहेको अवस्थामा सञ्चालक पन्तसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको खालबाट प्रहरीले ३६ हजार ४ सय ४२ रूपैयाँ नगद र १ बुक तास बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ परेका १२ जनामाथि थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय प्रहरीले जिल्लामा अवैध जुवातास र सट्टेबाजी विरुद्धको सक्रियतालाई तीव्र पारेको छ ।