नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा अपराध नियन्त्रण र फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति हासिल गरेको छ। यस अवधिमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २७० जना प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार पक्राउ परेका यी प्रतिवादीहरूबाट कूल ३ करोड ३५ लाख ३४ हजार ४९८ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूमाथि कूल १२५ वर्ष १ महिना ९ दिनको कैद सजाय तोकिएको छ।
यसैगरी, पछिल्लो ६ महिनामा बाँके जिल्लामा १ हजार १३२ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन्, जसमा संलग्न ९३९ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ। लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरीको सक्रियता उच्च देखिएको छ। डीएसपी पातलीका अनुसार सो अवधिमा २१२ जनालाई लागुऔषध सहित पक्राउ गरिएको छ, जसमा १९१ पुरुष, ९ महिला र १२ जना भारतीय नागरिक रहेका छन्। उनीहरूको साथबाट १ किलो ५०० ग्राम ब्राउन सुगर, ५ किलो ६६ ग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स लगायत ठुलो परिमाणमा निषेधित ट्याब्लेटहरू बरामद गरिएको छ।
प्रहरीको तथ्याङ्क अनुसार सोही अवधिमा जिल्लाभर हराएका ३८८ जनामध्ये ३४३ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको छ। यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ६६७ सवारीसाधनमाथि कारबाही गर्दा १ करोड २७ लाख १९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ। अवैध नदीजन्य पदार्थ उत्खननमा संलग्न ५२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर ६ लाख २५ हजार ५०० रुपैयाँ राजस्व दाखिला गरिएको समेत जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।