सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगद सहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान नियमित जाँचका क्रममा प्रहरीले ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारतको सुपौल छिटही हनुमाननगर–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो। सोही क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त परिमाणको नगद फेला परेको हो। बरामद गरिएको नगदको स्रोत खुलाउन नसकेपछि उनीहरूलाई रकम र मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।