काठमाडौँ । पोखरामा पारिवारिक विवाद र अंशमुद्दासम्बन्धी कलहका कारण एकल महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा भाञ्जा पक्राउ परेका छन्। पोखरा–५ मालेपाटनकी सिर्जना पौडेल केसीलाई चैत २५ गते साँझ शिवालय चोकबाट सभागृह चोकतर्फ जाँदै गर्दा बीच सडकमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका आरोपितमध्ये भाञ्जालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का एक जनाको खोजी जारी रहेको छ।
प्रहरी अनुसन्धान अनुसार पारिवारिक विवाद, सम्पत्तिको अंशमुद्दा र पुरानो कलह नै घटनाको मुख्य कारण देखिएको छ। मृतक सिर्जना एकल महिला थिइन् र पृथ्वीचोक क्षेत्रमा जुत्ता पसल सञ्चालन गर्दै आएकी थिइन्। जेठी श्रीमतीको आत्महत्या र त्यसपछि भएको विवाह, श्रीमानको मृत्यु तथा परिवारभित्रको सम्पत्ति विवादले लामो समयदेखि तनाव बढ्दै गएको अनुसन्धानमा खुलेको छ। मृतकको आफ्नै सौतेनी परिवारसँग अंशसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न समूहले दिउँसैदेखि निगरानी (रेकी) गर्दै आक्रमण गरेको देखिएको छ।
भीड कम भएको र सडक सुनसान बन्दै गएको मौका छोपेर आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पक्राउ परेका भाञ्जाले प्रारम्भिक बयानमा अपमान र व्यक्तिगत रिसइवीका कारण हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ। यद्यपि घटनामा अन्य परिवार सदस्यको संलग्नता हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न समूहले प्रयोग गरेको मोटरसाइकल चालकको खोजी भइरहेको छ। साथै, सम्पत्ति विवाद, पारिवारिक कलह र अंशमुद्दासम्बन्धी पाटोमा समेत गहिरो अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनाबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलनमार्फत थप विवरण सार्वजनिक गर्ने जनाएको छ।