काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विभिन्न गम्भीर मुद्दामा अदालतबाट दोषी ठहर भई वा पक्राउ अनुमति जारी भई फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीसमाचार कक्षले जनाएको छ। प्रहरीले छुट्टाछुट्टै स्थानबाट अनुचित लेनदेन, बैंकिङ कसुर र जबरजस्ती करणी मुद्दाका फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
जसमा , अपराधिक षडयन्त्र तथा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुर मुद्दामा फरार रहेका ५६ वर्षीय गोपाल श्रेष्ठ पक्राउ परेका छन्। सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१६ बालाजु बस्ने उनलाई प्रहरी टोलीले बिहीबार काठमाडौंको बागबजारबाट नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत रूपन्देहीबाट पक्राउ अनुमति प्राप्त भएका श्रेष्ठलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाइएको कार्यालयले जनाएको छ। त्यस्तै, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ३७ वर्षीय खिम बहादुर पुनलाई प्रहरीले बुधबार ललितपुरको ताल्छिखेलबाट पक्राउ गरेको छ। बागलुङ घर भई हाल ललितपुर–१४ बस्ने पुनलाई उच्च अदालत पाटनले २०७७ फागुन १९ गते दोषी ठहर गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।
त्यस्तै, जबरजस्ती करणी मुद्दामा फरार रहेका ४० वर्षीय उमेश सापकोटालाई प्रहरीले भक्तपुरको सूर्यविनायक–९ पलाँसेबाट बिहीबार पक्राउ गरेको छ। काभ्रे पनौती घर भएका सापकोटा विरुद्ध जिल्ला अदालत दाङबाट पक्राउ अनुमति जारी भएको थियो।
पक्राउ परेका सापकोटालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङ पठाइएको प्रहरीले जानकारी दिएको छ।