काठमाडौँ । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक थुनुवालाई करिब ८ महिनापछि सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले मलंगवा नगरपालिका–९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे पक्राउ गरेको हो। उनी मलंगवा नगरपालिका–१२ निवासी हुन्। प्रहरीका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारको पर्खाल भत्काएर बरही फरार भएका थिए। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।
बरहीमाथि २०७८ चैत २० गते मलंगवा–१२ का ८ वर्षीय बालक आकाश कुमार ठाकुर मिठु को अपहरणपछि हत्या गरेको आरोप छ। प्रहरीले जनाएअनुसार उनले फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरमा बन्धक बनाएका थिए। पछि बालकको घाँटी गम्छाले कसी हत्या गरी शवलाई प्लास्टिकको बोरामा हालेर छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालेको अवस्थामा फेला परेको थियो। पक्राउ परेका बरहीमाथि थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।