काठमाडौँ। पोखरामा बुधबार साँझ एकल महिलाको क्रूर हत्या भएको छ । पोखरा–५ मालेपाटनमा बसोबास गर्दै आएकी ४२ वर्षीया सिर्जना पौडेलमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी पौडेल सिर्जनाचोकतर्फ जाँदै गर्दा उनीमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते अवस्थामा उनलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी तीव्र बनाएको जनाएको छ । मृतकका श्रीमानको भने केही समयअघि नै निधन भइसकेको प्रहरीले जानकारी दिएको छ ।