सिन्धुली । प्रि–मनसुनको सक्रियता र मनसुन भित्रिने समय नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्भावित प्राकृतिक विपद्बाट बच्न उच्च सतर्कता अपनाउन नागरिकहरूमा अपील गरेको छ।
प्रशासनले बुधबार एक सूचना जारी गर्दै असिना, बाढीपहिरो, डुबान, हुरी–बतास, चट्याङ्ग र सर्पदंश जस्ता विपद्बाट मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो।
प्रशासनले राजमार्गमा यात्रा गर्दा सडकको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र निस्कन र अत्यावश्यक काम बाहेक यात्रा नगर्न सुझाव दिएको छ। यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइनमा सम्पर्क गर्न भनिएको छ।
हावाहुरी र चट्याङ्गको समयमा विद्युतीय उपकरणको प्रयोग नगर्न र अग्ला रुख वा विद्युतीय संरचनाको नजिक नबस्न प्रशासनले सचेत गराएको छ। यस्तै, सुक्खा मौसममा डढेलोको जोखिम बढ्ने भएकाले जथाभाबी आगो नबाल्न र चुरोटका ठुटा तथा सलाई जथाभाबी नफाल्न समेत आग्रह गरिएको छ।
डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई पूर्व तयारीस्वरूप ’झटपट झोला’ (अत्यावश्यक सामग्री) तयार राख्न र सुरक्षित स्थानको पहिचान गर्न भनिएको छ। साथै, गर्मी बढेसँगै सर्पको जोखिम हुने भएकाले रातीको समयमा हिँडडुल गर्दा जुत्ता लगाउन, पूरा बाहुला भएको कपडा लगाउन र बत्तीको प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।
कुनै पनि विपद्को अवस्था आइपरेमा तत्काल जिल्ला प्रशासन कार्यालय (०४७–५२०६१०) वा प्रहरीको १०० नम्बरमा खबर गर्न प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा जारी सूचनामा उल्लेख छ।