काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न आपूर्तिकर्ता र ठेकेदारहरूको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिए बापत घुस लिएको पुष्टि भएपछि आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार दाहालले अस्पतालको आन्तरिक स्रोतबाट रकम भुक्तानी दिने क्रममा विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग मोलमोलाई गरी घुस रकम बुझेका थिए । विशेष सूचनाका आधारमा टङ्गालबाट खटिएको टोलीले उनलाई १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगदसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा दाहालले ९३ हजार ८ सय ५० रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । दाहालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियारको ठहर छ । अख्तियारले दाहाललाई बिगो ९३ हजार ८ सय ५० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजायको माग गरेको आरोपपत्रमा उल्लेद गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, लेखा अधिकृत दाहालले गैरकानुनी लाभ लिने बदनियत राखी योजनाबद्ध रूपमा सेवाग्राहीसँग रकम असुल गरेका थिए । आयोगले आजै विशेष अदालतमा मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।