धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीका दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। बुधबार दिउँसो कारागारभित्रै भएको झडपमा उनीहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० खड्कबहादुर खत्रीका अनुसार झडपमा परी भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम घाइते भएका छन्। घाइतेहरू झडपमा संलग्न दुवै पक्षका हुन्।
घाइते हुनेहरू लागूऔषध र चोरी मुद्दाका कैदीबन्दी रहेको प्रहरीले जनाएको छ। उनीहरूको अहिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार यी दुई समूहबीच यसअघि पनि पटक(पटक विवाद र झडप हुने गरेको थियो। बुधबारको घटनापछि कारागारको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ।