काठमाडौँ । नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन् । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर सरकारी वकिलले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलले उनलाई सफाइ दिएका हुन् । इन्स्पेक्टर शाही सहित सो प्रकरणमा जोडिएका भिमादेवी थापा, सुस्मा बिक, दर्शन पोखरेल र भैंसेपाटी प्रभागमा कार्यरत तत्कालिन सहायक हवलदार महेन्द्र हमालले सफाइ पाएका छन् ।
२०८१ असोजमा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवलदार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापालाई प्रहरीले पक्रेर अनुसन्धान गरेको थियो । ताज मूल इस्लामलाई अदालतले डेढ वर्ष कैद र ३० हजार जरिवाना हुने ठहर गरेको छ ।
घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष थियो । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको भेटिएको थियो । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि बिचौलियाहरूसँग मिलेको पीडितले आरोप लगाएका थिए । पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर बिनु निलम्बनमा परेकी थिइन् ।