काठमाडौं । विभिन्न जिल्लामा महिला तथा बालिकालाई जबरजस्ती करणी गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कैलाली, कपिलवस्तु र ओखलढुङ्गामा भएका यी घटनाका आरोपितहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागा पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको हो। पीडित महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, कपिलवस्तुमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–५ ग्यालेक्सी टोल बस्ने २५ वर्षीय चन्दन तिवारी पक्राउ परेका छन्। मंगलबार साँझ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। बालिकामाथि करणी भएको उजुरी परेपछि प्रहरीले तत्कालै कारबाही अगाडि बढाएको थियो।
ओखलढुङ्गामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट देवाही गोनाही नगरपालिका–६ घर भएका ४९ वर्षीय चुनचुन साह कानु पक्राउ परेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट केतुकेबाट खटिएको प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ परेका तीनै जनामाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ।