ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा सुन्दरीघाटबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित चार जनालाई पक्राउ गरेको छ । हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ७ लाख ८८ हजार रूपैयाँ नगदसहित उनीहरूलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भएका ६० वर्षीय देव कुमार लामा, खोटाङ रूपाकोट मझुवागढी नगरपालिका–११ घर भएका ४३ वर्षीय पवन तामाङ रहेका छन् । त्यस्तै, सर्लाही बागमती नगरपालिका–१० का ३९ वर्षीय ईन्द्र विक र सोही नगरपालिका वडा नं. ६ का ३२ वर्षीय दिनेश विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुन्दरीघाट क्षेत्रमा अवैध आर्थिक कारोबार भइरहेको सूचना प्राप्त भएलगत्तै विशेष प्रहरी टोली परिचालन गरिएको थियो । खानतलासीका क्रममा बरामद भएको उक्त रकमको स्रोत खुल्न नसकेपछि उनीहरूलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि हुण्डी कारोबार वा अन्य अवैध गतिविधिमा संलग्नता रहे÷नरहेको बारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।