गोरखा । आरूघाट गाउँपालिका–२ मान्बुवेशीमा भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ३४ वर्षीय बाबुराम बोगोटीलाई एक थान भरुवा बन्दुक र बारुदसहति मंगलबार राति पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बाबुराम र स्थानीय ३५ वर्षीय सन्तोष परियारबीच सामान्य विषयमा वादविवाद भएको थियो। सोही क्रममा बाबुरामले सन्तोषलाई भरुवा बन्दुकको डाबले प्रहार गर्दा उनी सामान्य घाइते भएका छन्।
झैझगडाको खबर पाएलगत्तै प्रहरी चौकी मान्बुबाट खटिएको टोलीले बाबुरामको घर खानतलासी गर्दा लुकाइराखेको अवस्थामा बन्दुक र बारुद फेला पारेको थियो।
प्रहरीले अभियुक्त बाबुरामलाई नियन्त्रणमा लिनुका साथै घाइते सन्तोष परियारलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। अवैध हतियार र कुटपिटका सम्बन्धमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।