भोजपुर । षडानन्द नगरपालिकामा एक युवकको हत्या भएको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। स्थानीय २४ वर्षीय सम्मर बहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई बुधबार बिहान पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्र कुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जी रहेका छन्।
मंगलबार राति उनीहरूको कुटपिटबाट सम्मर बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बोयाँबाट खटिएको टोलीले आरोपितहरूलाई तत्काल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ र घटनाको विस्तृत कारण खुल्न बाँकी छ।