काठमाडौँ। शान्ति सुरक्षालाई सुदृढ पार्ने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करिब ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट गरेको छ। हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’अन्तर्गत उक्त मदिरा नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त टोलीले हेटौँडा–१८ स्थित शिवम् सिमेन्ट नजिक रहेको कारखानामा छापा मारेर करिब ६ हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको हो। प्रहरीले तीन कर्मचारीलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको मदिरा गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भएकाले नष्ट गरिएको हो। ‘अपरेसन ड्रप’अन्तर्गत जिल्लाभरि अवैध गतिविधि, लागू औषध कारोबार, गुण्डागर्दी र समाजमा अशान्ति फैलाउने कार्यहरूलाई नियन्त्रण गर्न निगरानी कडा गरिएको छ। जिल्ला प्रहरी मकवानपुरले नागरिकहरूलाई यस्ता अवैध गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ र आगामी दिनमा पनि यस्ता गैरकानुनी कार्यविरुद्ध कठोर कारबाही जारी रहने जनाएको छ।