काठमाडौँ। मकवानपुरमा शान्ति सुरक्षा सुदृढ पार्ने उद्देश्यसहित प्रहरीले सञ्चालन गरेको विशेष अभियान ‘अपरेसन ड्रप’ अन्तर्गत दुई दिनमै ४० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्रीको नेतृत्व तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको समन्वयमा खटिएको टोलीले विभिन्न अवैध गतिविधि र ठगीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा बढ्दै गएका अवाञ्छित क्रियाकलाप, ठगी तथा सामाजिक असुरक्षालाई नियन्त्रणमा लिन अभियानलाई कडाइका साथ सञ्चालन गरिएको हो। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक बोगटीले अभियानलाई अझ प्रभावकारी बनाउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखिएको बताए। उनले सर्वसाधारणलाई सुरक्षित वातावरणमा दैनिक जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरे। प्रहरीले ‘अपरेसन ड्रप’लाई निरन्तरता दिँदै आगामी दिनमा पनि अवैध गतिविधिमा संलग्नमाथि कडा निगरानी र कारबाही जारी रहने स्पष्ट पारेको छ।