काठमाडौँ । मकवानपुरमा लागूऔषध सेवन गरेर सवारी चलाउने १२ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ‘अपरेशन ड्रप’ अन्तर्गत सवारी चेकजाँच गर्दा ६५ वटा सवारी साधन जाँच गरिएको थियो। सो क्रममा १२ जना चालकले लागूऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम उच्च हुने भएकाले यस्तो गतिविधिविरुद्ध कडाइ गरिएको हो। प्रहरीले सडक सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता चेकजाँचलाई निरन्तरता दिने जनाएको छ। साथै, चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार रूपमा सवारी चलाउन आग्रह गरिएको छ।