काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बस्ने बैतडीका ३४ वर्षीय विरेन्द्र बहादुर चन्द र नवलपरासी पश्चिमका ३८ वर्षीय महाविर नाउ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ परेका व्यक्तिहरूले वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठूलो रकम असुल गरेर सम्पर्कविहीन भएका थिए।
जापान पठाइदिने भन्दै विरेन्द्र बहादुर चन्दले एक जना पीडितबाट १५ लाख रुपैयाँ ठगी गरेका थिए । अजरवैजान पठाइदिने भन्दै महाविर नाउले दुई जना पीडितबाट १८ लाख रुपैयाँ ठगी गरेको भन्ने उजु्रीका आधरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले चन्दलाई काठमाडौं–१० र नाउलाई काठमाडौं–१२ बाट आइतबार पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।