काठमाडौँ। रोल्पामा भएका विभिन्न सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा सुनिल स्मृति गाउँपालिका–२ का २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो।
उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा साइमन सेन ठकुरी, अर्पण शाह ठकुरी र हिमाल चन्द ठकुरी घाइते भएका छन्। घाइतेमध्ये साइमन र अर्पणको अवस्था गम्भीर रहेको र थप उपचारका लागि बुटवल पठाइएको छ भने हिमालको अवस्था सामान्य रहेको छ। उक्त दुर्घटना आइतबार बिहान करिब ८ बजे भालुबाङ–सुलीचौर सडकखण्डमा भएको थियो। यसैबीच, शनिबार बेलुकी भएको अर्को दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–४ का २१ वर्षीय सामिल विकको ज्यान गएको छ। थवाङ गाउँपालिका क्षेत्रमा पानी बोकेको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी, शनिबार नै अर्को दुर्घटनामा लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय गणेश जिसी घाइते भएका छन्। सुलीचौर–रुइनिवाङ सडकखण्डमा रोकिराखिएको टिप्परमा मोटरसाइकल ठोक्किँदा उनी घाइते भएका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ भने टिप्पर चालकलाई नियन्त्रणमा लिइएको छ।