काठमाडाैँ । सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको र सरकारी कामकाजमा अवरोध सिर्जना गरेको आरोपमा प्रहरीले ललितपुरका दुई सरकारी कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको विशेष टोलीले आइतबार यी बिचौलियाहरूलाई नियन्त्रणमा लिएको हो ।
नापी कार्यालय लगनखेलबाट २१ जना र यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ११ जना बिचौलियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेका व्यक्तिहरूले कार्यालयमा आउने सेवाग्राहीलाई बाटो छेक्ने, अनावश्यक हैरानी दिने र छिटो काम गरिदिने बहानामा अवरोध पु¥याउने गरेको पाइएको छ ।हाल पक्राउ परेका सबै ३२ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।