काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रबाट अवैध रूपमा क्रिप्टो करेन्सी (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चीन घर भई हाल काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ३५ वर्षीय झु यी फेङ लाई पक्राउ गरेको हो। उनको साथबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ २३ पैसा बराबरको अवैध अभौतिक मुद्रा कारोबार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेङले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग कुराकानी गरी प्रलोभनमा पार्ने र उनीहरूको बैंक खाता प्रयोग गरेर रकम ठगी गर्ने गरेको पाइएको छ। यसरी संकलन भएको ठगीको रकमलाई उनले अवैध रूपमा क्रिप्टो करेन्सी (ग्क्म्त्) मा साटेर कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले फेङको साथबाट कारोबारमा प्रयोग भएका ३ थान मोबाइल सेट, ’इन्टरनेशनल एक्सप्रेस’ लेखिएका र रकम पठाउन प्रयोग गरिने विभिन्न कागजातहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका फेङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनामा अन्य व्यक्तिहरूको संलग्नता र ठगीको नेटवर्कबारे थप सुक्ष्म अनुसन्धान अगाडि बढाएको छ।