काठमाडौँ । नेपालका विभिन्न जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार प्युठान, उदयपुर र रूपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। उनीहरुलाई परिवारको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएकोे छ ।
प्युठानमा १९ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा प्युठानको सरूमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
त्यस्तै, उदयपुरबाट १६ बर्षीया बालिका करणी गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको हा । उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–७ हाडेबासका २० वर्षीय बिपु परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै, रूपन्देहीको कञ्चन गाँउपालिका–१ का ४२ वर्षीय मन बहादुर थारूलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेका तीनै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाएका छन्।