काठमाडौँ । प्रहरीले ललितपुर र कैलालीका विभिन्न स्थानमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास र कौडा समेत बरामद गरिएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीस्थित ’ग्रीन सिटी भिल्ला’ बाट बुधबार राति २१ जना पक्राउ परेका छन्। प्रहरी वृत्त सातदोबाटोको टोलीले काठमाडौँ महानगरपालिका–१३ का ५१ वर्षीय दिपेश खड्गीसहित २१ जनालाई जुवा खेलिरहेकै अवस्थामा फेला पारेको हो। उनीहरूको साथबाट प्रहरीले ९ लाख ७ हजार ९ सय ७५ रुपैयाँ नगद, ३९ बुक तास र १६ थान कौडा बरामद गरेको छ।
ललितपुर महानगरपालिका–७, पाटन सुन्धारास्थित एक क्याफे एण्ड रेष्टुरेण्टबाट ५ जना पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगलबजारबाट खटिएको टोलीले स्थानीय ३६ वर्षीय सुमन महर्जनसहित ५ जनालाई ६५ हजार ७ सय ३० रुपैयाँ नगद र ९ बुक ताससहित नियन्त्रणमा लिएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले धनगढी–४ का ६७ वर्षीय पुष्पराज पन्तसहित ८ जनालाई ५७ हजार १ सय ७० रुपैयाँ नगद र २ बुक ताससहित बुधबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएका छन्।