काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्सामा कार्यरत कर्मचारीहरूले सरकारी राजस्व हिनामिना गरेको अभियोगमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आर्थिक वर्ष २०७०÷७१ मा रजिष्ट्रेशन फाँट “ग“ मा कार्यरत कर्मचारीहरूले करिब रू. २ करोड ९३ लाख ६८ हजार ५६५ रूपैयाँ राजस्व चुहावट गरेको आयोगले जनाएको छ ।
आयोगले यस भ्रष्टाचार काण्डमा संलग्न पाँच मुख्य प्रतिवादीहरू विरुद्ध बिगो बमोजिमको कैद र बिगोको दोब्बर जरिवानाको मागदाबी गरेको छ । प्रतिवादीहरूमा तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र लाई ३८ लाख ८० हजार ३६८ रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ। भूप बहादुर बोगटी लाई १ करोड १० लाख ६० हजार ५२४ रुपैयाँ बिगो माग गरिएको हो ।
पदम प्रसाद अर्याल २१ लाख ३८ हजार १६९ रुपैयाँ र सुरेन्द्र प्रसाद राव कुर्मी ९९ लाख १० हजार ५१५ कायम गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, तत्कालीन नायव सुब्बा स्वर्गिय किरण प्रसाद उपाध्यायको हकमा आयोगले विशेष मागदाबी गरेको छ । निज उपाध्यायको मृत्यु भइसकेको र उनकी पत्नीको समेत मृत्यु भइसकेकोले, हिनामिना भएको कुल बिगो रू. २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ निजका हकखाने छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायबाट दामासाहीले असुल उपर गर्न माग गरिएको छ ।
फौजदारी न्यायको सिद्धान्त अनुसार मृत्यु भइसकेका व्यक्तिको हकमा सजाय गर्न नसकिए पनि सरकारी बिगो असुल गर्न सकिने कानुनी व्यवस्था अनुसार निजका छोराहरूलाई प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।