काठमाडौं । नेपाल प्रहरीले अप्रिल फूलको अवसरमा साइबर सुरक्षासम्बन्धी सचेतनाको पाठ सिकाईरहेको छ । बुधबार नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गर्दै तपाईंविरुद्ध उजुरी परेको त छैन ? सुनिश्चित गर्नको लागि एक पटक क्यूआर स्क्यान गर्नुहोस भन्दै पोष्ट गरेको छ ।
उक्त क्यूआर स्क्यान गर्दा तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो। आज हामीले मजाक गरेका थियौँ... तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ’ भन्दै सचेतनाको पाठ सिकाएको हो । यो प्रहरीले सर्वसाधारणलाई प्रविधिको प्रयोग गर्दा कति सचेत हुनुपर्छ भन्ने व्यावहारिक सन्देश दिन पनि खाजेको हो ।
पछिल्लो समय प्रविधिको विकाससँगै क्युआर कोडमार्फत बैंक खाता खाली गरिदिने, मोबाइल ह्याक गर्ने वा व्यक्तिगत विवरण चोर्ने (फिसिङ) गिरोह सक्रिय छन्। पुरस्कार परेको, चिठ्ठा परेको वा प्रहरीकै नाममा नक्कली धम्कीपूर्ण सन्देश पठाएर ठगहरूले क्युआर स्क्यान गर्न लगाउने गरेका छन्। यही जोखिमलाई मध्यनजर गर्दै प्रहरीले रमाइलो शैलीमा गम्भीर सुझाव दिएको छ।